प्रदेश-२ मन्त्रिपरिषद् बैठकद्वारा महेन्द्रनारायण निधि विपन्न आवास योजना , कार्यान्वयन कार्यविधि स्वीकृत

काठमाडौं । प्रदेश-२ सरकारले गरीब र विपन्न परिवारको घर निर्माणका लागि नेपाली कांग्रेसका नेता स्व. महेन्द्रनारायण निधिको नाममा विपन्न आवास योजना बनाएको छ ।

जसका लागि शुक्रबार बसेको प्रदेश-२को मन्त्रिपरिषद् बैठकले महेन्द्रनारायण निधि विपन्न आवास योजना, कार्यान्वयन कार्यविधि स्वीकृत गरेको छ ।

योजनाबमोजिम प्रदेश-२ले प्रदेश-२का आठवटै जिल्लामा ६ सय १० विपन्नको घर निर्माण हुने बताइएको छ ।

यो कार्यविधि अनुसार प्रदेशमा ६ सय १० विपन्न परिवारको आवास निर्माण गरिने प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले बताए ।

उनका अनुसार आठ वटै जिल्लाको प्रत्येक प्रदेश सभा क्षेत्रमा १० परिवारको घर निर्माण गरिने छ ।

असहाय र विपन्न एकल महिला, आर्थिक रुपले विपन्न व्यक्ति, परिवार, दलित, लोपोन्मुख, सीमान्तकृत जाति, अनाथ बालबालिका, अशक्त वृद्धवृद्धालाई प्राथमिकताको आधारमा आवासको व्यवस्था गरिने उनले बताए ।

प्रतिआवास कुल पाँच लाख रुपैयाँमा भित्ता प्लास्टर गरेको र छाना भएको दुई कोठा, एक भान्छा घर र एक शौचालय रहने घर निर्माण गरिने मन्त्री साहले बताए ।

शुक्रबारको मन्त्रिपरिषद बैठकले दलित सशक्तिकरण नियमावली पनि स्वीकृत गरेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.