थापाको अग्निपरीक्षा सुरु

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्रीमा गगन थापा विजय भएका छन् । थापा नेपाली कांग्रेसभित्र युवा तथा स्वच्छ छवि र आशलाग्दा नेताको रुपमा परिचित छन् ।

१४औँ महाधिवेशनका क्रममा निर्वाचित पदाधिकारीमध्ये थापले सबैभन्दा बढी मत प्राप्त गरेका छन् ।

यसअघि १३औँ महाधिवेशनका क्रममा महामन्त्रीका उम्मेद्वार शशांक कोइरालाले लोकप्रिय मत प्राप्त गरेका थिए । यद्यपि उनको कार्यशैलीलाई लिएर कांग्रेसभित्रै उनको अलोचना हुँदै आएको छ ।

तर, कोइरालाबाट भएको गल्ती सुधारका लागि थापालाई प्रतिनिधिले सो मत प्रदान गरेको कतिपयको अनुमान छ।

१२ औँ महाधिवेशनमा अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएका थापाले यसअघि पछिल्लो बेन्चमा बसेर पार्टीमा परिवर्तन ल्याउन सकिने अभिव्यक्ति दिँदै आएका थिए । 

किन छन्,गगन चर्चामा ?

थापा पार्टी नेतृत्व र जोसुकैका गलत निर्णयप्रति खुलेर प्रश्न गर्न र राजनीतिक मुद्दा स्थापित गराउन माहिर छन् ।

उनले ५ पुस २०७७ मा भएको संसद् विघटनलाई लिएर सबैभन्दा पहिला विरोध गरेका थिए ।

नरहरि आचार्यसहितका कांग्रेस नेताहरुले थालेको पार्टी सुधारको अभियानमा ०५८/०५९ बाटै संलग्न रहेका थापा अहिले त्यो अभियान पूरा गर्ने ठाउँमा पुगेका छन् ।

१२ औँ महाधिवेशनदेखि थापा देउवाको आलोचकका रुपमा प्रस्तुत भएका उनी अहिले देउवाका निर्णयलाई करेक्सन गर्ने ठाउँमा छन् ।

विगतमा पार्टी सञ्चालनलगायत विषयमा देउवाप्रति औँला ठड्याउँदै आएका उनले दिएका सुझाव कितपय ठाउँमा कार्यान्वयन नगर्दा देउवा आलोचित हुनुसमेत परेको छ ।

साथै उनी मानिसमा भएका प्रवृत्तिबारे खुलेरै आलोचना र समर्थन गर्ने सामर्थ राख्छन् ।

उनी भन्छन्, ‘मैले अहिलेसम्म देउवालाई भोट हालेको छैन ।’

देउवाप्रति यति आलोचक हुँदाहुँदै पनि थापा पहिलो वरीयताको महामन्त्रीका रुपमा निर्वाचित भएका छन् ।

उनको विजयसँगै कांग्रेसभित्र देउवाबाट हुने गरेका अराजक हर्कत अन्त्य हुने आस गरिएको छ ।

के छ थापाको अवधारणपत्रमा

महामन्त्रीमा उम्मेदवारी दिंदै गर्दा थापाले पार्टी रुपान्तरण र पुनर्जागरणका लागि भन्दै ६० पृष्ठको अवधारणापत्र जारी गरेका थिए ।

थापाद्वारा जारी अवधारणा पत्रमा भनिएको छ, ‘२००६ सालको जस्तो क्रान्तिचेत, १५ सालको जस्तो प्रगतिशील र समावेशी सोच, २०४८ सालको जस्तो लोकप्रिय मत, ०६२/०६३ जस्तो सर्व स्वीकार्य नेतृत्व भएको हाम्रो गौरवशाली विगतबाट प्रेरणा लिंदै आजको समयको चेत बुझेर नवीन  पुस्ताले विश्वास र भरोसा गर्ने स्पष्ट ध्येय भएको गतिशील र आधुनिक संगठन बनाउनु छ ।’

थापाका अवसर र चुनौती

थापाले जारी गरेको अवधारणापत्रमा ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ बनाउने उल्लेख छ ।

अवधारणमा उल्लेख गरेका विषय पूरा गर्न उनी कति सक्षम हुन्छन् । त्यो भने आगामी दिनमा पूरा हुँदै जानेछन् ।

यो अवधारणामा कांग्रेसजनले गरेको विश्वास र मुलुकले गरेको अपेक्षासँग जोडिएको छ । तर, पार्टीको उही संरचना, त्यही विधान र उस्तै परम्पराको बीचबाट आफ्ना प्रश्नको जवाफ थापाले दिनुपर्नेछ ।

आजसम्म उनले जति प्रश्न  सिर्जना गरे उनले त्यसको उत्तर दिनुपरेन ।  तर, अब उनी सो छुटबाट वञ्चित छैनन् । आफैँले सिर्जना गरेका प्रश्नको उत्तर आफैँले दिनुपर्नेछ । र, पास हुनुपर्ने चुनौती पनि उनको सामु छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.