'वैज्ञानिक समाजवादमा जान असम्भव छैन'
वैज्ञानिक समाजवादका लागि प्रचण्डले एक पाइला मात्र हिड्न खोजेको प्रतिवेदनमा देखिएको छ । 

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको आठौँ महाधिवेशन प्रज्ञा भवन कमलादीमा चलिरहेको छ । महाधिवेशनमा देशभरबाट १५३३ प्रतिनिधि सहभागी छन् । यी प्रतिनिधिहरुले २५ समूहमा विभाजित भएर अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत राजनैतिक प्रतिवेदनमाथि छलफल गरिरहेका छन् ।

प्रचण्डले '२१ औँ शताव्दीमा समाजवादको नेपाली बाटो' शीर्षकको राजनैतिक प्रतिवेदन पेश गरेका छन् । यो प्रतिवेदनमा अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षा गरिएको छ । यसमा मूलत अन्तर्राष्ट्रिय पूँजीको विकास प्रक्रियाबारे चर्चा गरिएको छ । अहिलेको समयमा पूँजीवाद चौंथो चरणमा प्रवेश गरेको छ । विज्ञान प्रविधिमा भएको उच्चतम विकासले उत्पादन सम्बन्धमा परिवर्तन आएको छ । उत्पादनका साधनहरु अहिले प्रविधि भएका छन् । जुन देशले प्रविधिमा पहुँच बढाउन सक्छ । त्यो मुलुक मात्र धनी हुन् सक्ने अवस्था निर्माण भएको छ ।

प्रतिवेदनले भूमण्डलीकृत वित्तीय एकाधिकार पूँजीवादलाई अहिलेको पूँजीको प्रवृतिका रुपमा स्वीकार गरेको छ । तर अहिले विश्व अर्थराजनीतिमा फेरबदल देखापरेको छ । चीनको उदयसँगै अमेरिका किनारा लाग्ने देखिएको छ । सन् २०३० पछि चीन विश्वको पहिलो मुलुक हुने विभिन्न अध्ययन प्रतिवेदनले उल्लेख गरेका छन् । यद्यपि चीन विश्व व्यापार संगठनको सदस्य मुलुक भने हो । समाजवादी चीन विश्वको पहिलो आर्थिक शक्ति बनिरहँदा संसारभरको अर्थराजनीतिमा आउने परिवर्तनलाई प्रतिवेदनले प्रक्षेपण गर्न सकेको छैन । यस्तो प्रक्षेपण गर्न नसक्दा माओवादीको प्रतिवेदन वैज्ञानिक समाजवाद अहिले असम्भव देख्न पुगेको हो । यो प्रतिवेदन मूलत विगततिर ज्यादा फर्किएको छ ।   

प्रतिवेदनले वैज्ञानिक समाजवादलाई पार्टीको रणनीति मानेको भएपनि तत्काल वैज्ञानिक समाजवादमा जान असम्भव रहेको देखेको छ । प्रतिवेदनमा भनिएको छ 'राष्ट्रिय पूँजीको विकासको कमजोर स्थिति, अर्थतन्त्रमा दलाल नोकरशाही पूँजीवादको बलियो पकड, सामन्ती अवशेष र वैदेशिक हस्तक्षेपका विरुद्ध संघर्षका कारण तत्काल समाजवादमा जान तथा समाजवादी कार्यक्रम लागू गर्न सम्भव छैन ।' 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रिय पूँजीको विकासको कमजोर स्थितिलाई सुदृढ गर्ने, अर्थतन्त्रमा दलाल नोकरशाही पूँजीवादको पकडलाई कमजोर बनाउँदै लैजाने, सामन्ती अवशेषलाई समुल नष्ट गर्ने र वैदेशिक हस्तक्षेपका विरुद्ध संघर्षलाई बढाउने कार्यनीति लिएका छन् । जसलाई प्रचण्डले 'समाजवादी क्रान्तिको रणनीति अन्तर्गत समाजवाद उन्मुख स्वतन्त्र एवम् राष्ट्रिय अर्थतन्त्रको नीतिसहित राष्ट्रिय पूँजी र समृद्धिको विकास गर्ने मूल कार्यनीतिसँग सामन्तवादका अवशेषको अन्त्य र दलाल नोकरशाही पूँजीवाद र वैदेशिक हस्तक्षेपविरुद्धको संघर्षलाई जोड्न आवश्यक हुन गएको छ । यसलाई हामीले अर्को भाषामा समाजवादी क्रान्तिको रणनीतिअन्तर्गत जनवादी क्रान्तिको बाँकी कार्यभार पुरा गर्ने नीतिका रुपमा पनि बुझ्न सकिन्छ ।' भनेर संश्लेषण गरेका छन् ।

प्रचण्डले 'समाजवाद उन्मुख सामाजिक न्यायसहितको समृद्धि हासिल गर्नु'लाई कार्यनीतिका रुपमा प्रस्तुत गरेका छन् । उनले यसमा १३ वटा काम उल्लेख गरेका छन् । जसलाई वैज्ञानिक समाजवादको एक अंशका रुपमा स्वीकार्न भने सकिन्छ । यसरी हेर्दा वैज्ञानिक समाजवादका लागि प्रचण्डले एक पाइला मात्र हिड्न खोजेको प्रतिवेदनमा देखिएको छ । तर, यो ज्यादै अपूर्ण कार्यक्रम हो । यो प्रतिवेदनमा परिस्थितिसँग क्रान्तिकारी थाकेको दृष्य देखिन्छ । यद्यपि एक पाइला हिड्दा पनि नेपालमा समाजवादको आधार तयार भने हुनेछ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.